मै हुँ

महाभूकम्पको ४५ अौं दिन आज

मै हुँ

पृथ्वी डगमगाउँदै आउने भूकम्पनै मै हुँ ।

कमजोर संरचना तहसनहस गर्नेनै मै हुँ ।

सानु-ठुलो, तेरो-मेरो, लोभ नभएकोनै मै हुँ ।

सारा संसारको प्रश्नवाचक चुनौतीनै मै हुँ ।

1990, 2072 को महाँभुकम्पनै मै हुँ ।

हजारौं पराकम्पन ल्याउने शक्तीनै मै हुँ ।

क्षणभरमानै नासी मात्तीएर हास्नेनै मै हुँ ।

बिना सूचना आउने भूकम्पनै मै हुँ ।

म लहड हुँ विना सूचना दौडने तरंग मै हुँ

विज्ञान, न्युट्रन, आइस्टान भन्दा ठुलोनै मै हुँ ।

शक्तिमा, कालमा, नासमा, सवैमा ठुलो मै हुँ

मिनेट भरमा विध्वन्स मच्चाउनेनै मै हुँ ।

तर,

म प्रतिरोधात्मक संरचना बनाउनेहरुलाई

बलिया निर्माण र पून:निर्माण थाल्नेहरुलाई

पूराना नराम्रा शैली र मान्यता तोड्नेहरुलाई

नआत्तीन नडराउन अनुरोध गर्नेनै मै हुँ ।

ईन्जिनियरहरुको सल्लाहमा निर्माण गर्नेहरुलाई

दूर्गम गाउँमा साना बस्ती बनाउनेहरुलाई

फेरी भूकम्प आउन सक्छ भनी सोच्नेहरुलाई

न आतीन नडराउन अनुरोध गर्नेनै मै हुँ ।

भूकम्प प्रतिरोधी घर, टहरा, भवन बनाउनेहरुलाई

अर्को पुस्ताले सम्झन लायक निर्माण गर्नेहरुलाई

बुद्धि पुर्याइ काम गर्न थाल्नेहरुलाई

नआत्तीन नडराउन अनुरोध गर्ने नै मै हुँ ।

….क्रमश :

रितिरीवाज कस्तो ?

 

जिल्ला घुम्दा देखिएको कहाली लाग्दो संस्कार ,
हुने खाने, जागीरदारको ‍अचम्मको विचार ,
छोरी जन्मे त्यही गाँउमा कुपोषणको शिकार,
छोरा जन्मे भाग्यमानी शिक्षा स्वास्थ्य अवसर ।

धेरै युवा विदेशमा, जोश जागर अरबतिर,
बुढा-बुढी गाँउमा बस्छन् हुने खाने शहरतिर,
जग्गा जमिन बाँझै भए ध्यान गयो अन्तै तिर,
राम्रो अवसरको खोजी गर्दा बाँझो भयो गाँउ तिर ।

कमैया र हलिया प्रथा अर्ध जीवित नै भेटिन्छ,
जमिन्दार र मूखियाको रवैया नि देखिन्छ,
हुने खानेलाई यै देशमा माेज मस्ती देखिन्छ,
धेरैलाई त छाँकै टार्न मुस्किल पनि भेटिन्छ ।

दाइजो प्रथा झाङ्गीएर गएको नि देखियो,
छोरी पाउँदा नरमाइलो मानेको नी भेटियो,
छोरी जती मासिने र छोरा राख्ने भेटियो,
वर्षाै पछि छोरीहरु कम हुने नै देखियो ।

गरिव बस्ने गाँउमा नै, सक्ने गति सदरमुकाम,
खेति पाती बाझै वस्छ, भन्छन सामल किन्न जाँउ,
भाषण गर्छन ठुला ठुला समानताको नारामा,
मन भित्रै विभेद रहेछ उनको आफ्नै घरमा ।

गाँउमा स्कुल छोरीका लागि बनाइदिए जस्तो,
सवैले शिक्षा पाए त हुन्थ्यो यहाँको चलन कस्तो ?
शिक्षित वर्गमा, शिक्षामा ठुलै अभाव भए जस्तो
हाम्रो चलन, धर्म, संस्कृती ,रितिरीवाज कस्तो ?

– ध्रुव प्रसाद गजुरेल

कविता

 

भर्खर जन्मेका शिशुहरुको आवाज हो कविता
तोते बोली र बामे शर्दाका अवस्था हो कविता
जिज्ञासा, कौतुहलता, झोला र पुस्तक हो कविता
आवश्यकता, रुवाइ, आँसु र हाँसो हो कविता

किशोर युवा युवतीको हेराइ र मुस्कान हो कविता
माया, प्रेम र पिरतीका लेख रचनाहरु हो कविता
नाशा नशाका तरंग, भावना र जवानी हो कविता
दुइ आत्माको मिलन घरजम र परिवार हो कविता

झरेका आँसु र दुखेका घाउहरु हुन कविता
पिडा, अप्ठ्यारो, थिचाइं र मिचाइं हो कविता
राष्ट्रियता, हिमाल, पहाड, तराइ हो कविता
जिन्दावाद, मुर्दावाद, शब्दै शब्द हो कविता

संस्कृती, रितिरीवाज र राजनिती हो कविता
कालापानी र सूस्ताका सिमाहरु हो कविता
दाशता, निरंकशता र प्रजातन्त्र हो कविता
दमन, जेलनेल, अत्याचार र हत्कडी हो कविता

राष्ट्रिय विभुती,अग्रज र कविहरु हुन कविता
प्रकृती, छहरा, घामपानी र बगैचा हो कविता
नेपालीको पहिचान र चम्किलो खुकुरी हो कविता
जिन्दगीको हरेक पल पल, समय र मृत्यु हो कविता

– ध्रुव प्रसाद गजुरेल

किसान हु भन्न मन लाग्छ ।

 

झुल्के घाँम सँगै खेत वारीमा जान मन लाग्छ ,
बाँझो ओल्टाइ, पल्टाइ मलीलो पार्न मन लाग्छ ,
डोको, कोदाली र बन्चरो सँग खेल्न मन लाग्छ ,
पेशा सोधेमा किसान हुँ भन्न मन लाग्छ ।।

हिलो खेल्दै रोपाईमा असारे गाउन मन लाग्छ ,
हँ‍‍‍ हँ गर्दै गोरु र ट्याक्टर सँग हिडन मन लाग्छ ,
असार १५ धान दिवस, दोहोरी खेल्न मन लाग्छ ,
पेशा सोधेमा रुकिसान हुँ भन्न मन लाग्छ ।।

समय सँग सगै खेल्न र घुम्न मन लाग्छ ,
कृषिका पुराना शैलीहरु त्याग्न मन लाग्छ ,
आधुनिक प्रविधि र विऊहरु छर्न मन लाग्छ ,
विषादी रहित उत्पादन गराउन मन लाग्छ ।।

युवाहरुलाई अरव नजाउ भन्न मन लाग्छ ,
सवैले यहि माटोमा सुन फलाउन मन लाग्छ ,
कृषिमा आत्म निर्भर गराउन मन लाग्छ ,
पेशा सोधेमा किसान हुँ भन्न मन लाग्छ ।।

– ध्रुव प्रसाद गजुरेल

बागमती सफाई अभियान (महाकुम्भमेला)

सानु छदाँ हामी, खेल्न जान्थ्यौं पशुपती,
हजुरबा, र हजुरआमा सँगै लागि पछी ।
पानी सफा–कञ्चन थियो, कति पिइयो कती,
ननुहाइ फर्किएनौं हामी, कति नुहाइयो कती ।

बागमतीको कञ्चन पानी, शिवजीको साथी,
अंजुली र अर्घले, जल चढाइयो कती ।
एकादशी, शिवरात्री, पौडी खेल्ने साथी,
घरमा आउँथ्यो बोलाउन, जाउँन बागमती ।

विस्तारै यही बागमती, दुषित बन्दै गयो,
कञ्चन पानी ढल मिसाउँदा, प्रदुषित भयो ।
नुहाउँदा, खेल्दा, घाउ, खटीरा आउने भयो,
सफा पानी हेर्दा हेर्दे फोहोर बन्दै गयो ।

मृत्यू पछि सुताई दिने मुक्ती ढुङ्गामा,
यही पानीले जल दिँदा, कहाँ पुगिन्छ कहाँ ?
चौरासी जुँनी सम्म, घाउ खटीरा हुन्छ,
मृत्यू पछि पनी छिः छिः र दुर दुर बढ्छ ।
खोलाको दुबै तिर, ढल हाल्ने पो हो की ?
खोला मुनी, माथीबाट, निकास दिने हो की ?
सडक पेटी दायाँ, बाँया, मुनीबाट हो की ?
ठाँउ ठाँउमा सेफ्टी ट्याङ्की, बनाउने पो हो की ?

सरकारको मुख मात्र, ताक्न हुँदै हुन्न,
सामुहिक समस्या हो, एक्लै हुँदै हुन्न ।
गाँउ, घर, टोल सबैले, ढिला गर्न हुन्न ,
कति वस्ने चुप लागि, अब बस्नै हुन्न ।

बागमती, विष्णुमती कँही, फोहर मिस्नै हुन्न,
अपराधी कार्य यस्तो, गर्न छुट दिन हुन्न ।
हाम्रो पुस्ता खुबै रोयो, अर्काे रुनु हुन,
यहि ढलले गर्दा, ठूलो विपद् आउन हुन्न ।
बागमती सफा भइरहेछ, यसकै मुहानबाट ,
यही सफाइ अभियान, सहयोग सबबाट ।
निजामती, आर्मी, पुलिस अन्य संस्थाबाट,
तीन लाख मानीस गए, नछुटुन कहिँबाट ।

मूख्य सचिवको अध्यक्षतामा, बनेको टोली नयाँ,
जोस, जाँगर, सक्रियता, शैली रहेछ नयाँ ।
लाखौ जनता सफाइमा उत्रे, मिठो रहेछ बोली,
बिदेशी पाहुना, कलाकार, नेता, पुगे युवा टोली ।

सयौं हप्ता हाम्रो लागि, गर्व हुन्छ पक्का,
लाखौं मानीस बागमतीमा, फोहोर टिप्न जम्मा ।
सुन्दरीजलबाट सुन्दरीघाट, हुदैँन नी खाली,
२७ सै कि.मी साङ्लो बनी, बज्ने छनी ताली ।

७ खण्डमा विभाजन हुन्छ, छुट्नै हुन्न अब,
एकहत्तर चैत्र अठाइस, इतिहास बन्छ अब ।
४ लाख टन फोहोर झिकियो, बाँकी छ अझै,
३ लाख मानीस पुगे, तपाई जानुहोस आजै ।

सयांै हप्तामा बागमती, नुहाउन योग्य हुन्छ,
नभएका ठाउमा फेरी, सफा गर्नु पर्छ ।
वातावरण सफा हुन्छ, आयु हाम्रो बढ्छ,
औषधी र उपचारको, खर्च बचत हुन्छ ।

किन्नुहोस आजै १ जोर बुट, मास्क, पञ्जा,
फेरी फेरी प्रयोग हुन्छ, अन्य काम गर्दा ।
सयांै हप्ते बागमती, महाकुम्भमेला,
यस्तो सफाई महाअभियान नछुटाउनु होला ।

– ध्रुव प्रसाद गजुरेल

Click here- https://www.youtube.com/attribution_link?a=0Swsl5lEoLg&u=%2Fwatch%3Fv%3DCzEkfLmmlVs%26feature%3Dshare

नेपाल सम्झे मैले ।

धु्रव प्रसाद गजुरेल
तारकेश्वर न.पा. ८

वल्लझरें जहाजबाट अरबको भूमि
झट्ट मैले सम्झी हाली आपनै मतृभूमि ।
अग्ला भवन मरुभूमि हावा चल्दो रैछ
जमिन तातो, तातो हावामा हिड्नु पर्दाे रैछ ।।

ऋण तिर्न ऋणै काढी आइयो मरुभुमी
विवाह गरी मायालुलाई घरमै बस भनी ।
बुढी आमा भाई वहिनीलाई मिलि बस भनि
मिहिनेतको आटगरी आइयो मरु भूमी ।।

चुहिएको घरको छाना टाल्नु पर्छ भनी
खेतवारी साहुवाट फिर्ता गर्छु भनी।
ऋण तिरी सुखीजिवनजिउँनु पर्छ भनी
पिडा बोकी विदा मागी आइयो मरु भूमी ।।

यताउता हेर्दे जाँदा हिमाल सम्झे मैले
रंगीचङ्गी फूल गुराँस, छहरा सम्झे मैले ।
डाँडा पाखा डाँफे मूनाल जंगल सम्झे मैले
हराभरा तराईका फाटँ सम्झे मैले ।।

साथी–भाई, चाड– पवर्, दोहोरी सम्झे मैले
भीर पाखाको एेसेलु र चुत्रो सम्झे मैले ।
बनमाखाको काफल र माँया सम्झे मैले
जिवन भरी सँगै वाच्नेवाचा सम्झे मैल ।।

काम पनि निश्चीत छैन, दलाल सम्झे मैले
हावा हुरी, तातो पानी, नेपाल सम्झे मैले।
खाना पनि स्वाद छैन आँमा सम्झे मैले
आँखाबाट आँसु झार्दै माँया सम्झे मैले ।।

पहिलो दिनमा नै निर्दयी ब्यवहार सम्झे मैले
बोल्न पनि डर लाग्ने मानीस सम्झे मैले ।
निर्दोशमा जेल, नेल,फाँसी सम्झ मैले
अकालमा नेपाल गएका लास सम्झे मैले ।।

पशुपति, स्वयम्भू र बुद्ध सम्झे मैले
शान्ति क्षेत्र,कर्म क्षेत्र नेपाल सम्झे मैले ।।
दु:ख सम्झे, ऋण सम्झे माँयाँ सम्झे मैले
नेपालीको व्यवहार र नेपाल सम्झे मैले ।।

https://www.youtube.com/watch?v=5zK0-oHqfCo

नेपाल सम्झे उनले

माइतीमा दाउँरा घाँस काटी रहेको थिएँ ।
पानी घट्ट, ढिकी, जातो गरी रहेको थिएँ ।
जे पाकेनी मिठो मानी खाइरहेको थिएँ ।
विहान वेलुकी समयमा पढिरहेको थिएँ ।

माग्न आयौ सँगै वस्छ,ु सँगै पाल्छु भनी ,
सानी आमा, वा र मैले हुन्छ भने अनी ।
दाजु भाई सवले भने वेला भयो अव,
मेरी दिदि, मेरी वहिनी विवाह गरौ अव ।

सवको सल्लाह मान्नै पर्ने, विवाह गरे मैले,
एउटा घरमा जन्मे, हुर्के अर्काे घरमा अहिले ।
वुहारी, श्रीमती अनि अन्य नाता जोडें मैले,
असल परिवार दु्ःखी, घर पाएकी छ अ‍ैले ।

माइती जस्तै दुःख रहेछ कर्म व्यस्तै थियो,
विवाह गरी घरमा गइयो रमाइलो नै थियो ।
भावीले लेखि दिएको दाउँरा घाँस भनी,
घरको छाना चुहिने र ऋण रहेछ अनी ।

सँगै जान्थ्यौ घाँस, पात, वन, पाखा हामी,
एैसेलु, चूत्रो, काफल टिपी खान्थ्यौ हामी ।
चिप्लीएर लड्दा अर्काे दुःखी हुन्थ्यौ हामी,
माँया पिरतीमा रमाइला गफ गथ्र्याै हामी ।

विदेश जान्छु छाना टाल्न, ऋण पनी तिर्छु,
केहि वर्ष दुःख गरौ सुखी जिवन जिउछु ।
परिवार र तिमीलाई दुःख हुदै हुन्न,
यहि समाजमा वस्नु पर्छ पछि हट्न हुन्न ।

विवाह भएको महिना दिनमै यस्तो भयो कुरा,
कृषि सँग सहकार्यले हामं्रो इच्छा हुन्छ पुरा ।
पशुपालन, तरकारी खेति गरी ऋण तिरौ पुरा,
विदेश गइ दुःख गर्ने अव नगर्नुस न कुरा ।

तल्ला घरको साइलो पनि विदेश गाको रैछ,
जवानी र मौसमको केहि भर हुदो रैहिन्छ ।
साइलोको उतै घरजम साइली पोइल गइछ ,
वुढी आँमा वालवच्चाको घरमा विजोग रैछ ।

रातभरी वुझउनलाई खुवै कोशिस गरे मैले,
मनमा पिडा आँखावाट धेरै आँसु झारे मैले ।
समाज पनि राम्रो छैन कुरा काट्छन सवले,
यहि भुमिमा मिहिनेत गरी सुन फलाउ सवले ।

भन्दो रहेछ दलालले विदेश जाने कहिले ?
मिठो मिठो सपनामा पैसा दिएछन उनले ।
दुःख थिया,े ऋण थियो, पिडा थियो फेरि,
आँसु काढ्दै वाध्यताले मैले हु्न्छ भने फेरि ।

वुढी आमा भाई वहिनीलाई वुझाएछन उनले,
आँसु, पिडा भित्र राखी मनाएछन उनले ।
विदा गरेें मुटु मिचि आँसु झारें मैले,
आँसु झार्दै हात हल्लाउदै मुस्कान दिए उनले ।

फोन गरे अरव पुगी कुरा गरे मैले,
पहिलो शब्द उनले भने ‘‘नेपाल सम्झे मैले ’’
विदेशमा दुःख रहेछ म फर्कन्छु कहिले ?
पर्खि वस मेरी माँया काम खोज्दै छु अहिले ’’

ध्रुव प्रसाद गजुरेल

बन्न लागेको घर

बन्न लागेको घर

तीन तले घर हाम्रो नेपालीको सान
तराइ हाम्रो जग हो हिमाल हो छाना
वीचको तला पहाड मिल्छ दायाँ बायाँ
भाषा, धर्म, संस्कृतीको सबैले गर्छन् माया ।

हिमालमा हिँउ पर्दा छाना रसाउँदछ
वीचको तला मक्किएर ढुँसी पलाउँदछ
भईतलाभरी पानीले जमिन डुबाउँदछ
त्यही डुबानले कयौंलाई भोकै बनाउँदछ ।।

नयाँ नेपाल नयाँ सोच सबले लिनुपर्छ
जगैबाट माथिसम्म गाह्रो मिल्नुपर्छ
सामथ्र्य र पहिचानलाई सबले बुझ्नुपर्छ
खर झिकी अब हामीले ढलान दिनुपर्छ ।।।

पूरानो भयो कच्ची घर लड्न पनी सक्छ
सबै भाइ मिले मात्र नयाँ बन्न सक्छ
तेरो मेरो भन्न लागे वर्षा आउन सक्छ
त्यही बाढीले सबैलाई बगाइदिन सक्छ ।।।।

प्लाष्टिक मुक्त देश नेपाल घोषणा गरौ ।

प्लाष्टिक मुक्त देश नेपाल घोषणा गरौ ।

एक पाउ देखि हजारौ केजी सम्म
हिमाल-पहाड हुँदै तराई सम्म
पानी नछिर्ने सजिलो प्लाष्टिक झोला
क्यान्सर बनेर डस्दैछ होस गर्नुहोला ।

गल्दैन कुहिँदैन मल पनि दिदैन
जमीन बिगारी दिन्छ फल पनि दिदैन
धारा, ईनार-कुँवामा पानी आउँन दिदैन
सत्रुनै हो प्लाष्टिक प्रयोग गर्नुनै हुँदैन ।

वातारण स्वास्थ्य सबैतिर प्रदुषण
बाल्दा नी प्रदुण फाल्दा नी प्रदुषण
प्रयोग गर्ने नगर्ने सबैलाई प्रदुषण
सयौं वर्ष गल्दैन झन-झन प्रदुषण ।

सफा, स्वस्थ्य, सुन्दर, हराभरा
बनाउने हामी सबैको अभिभारा
प्लाष्टिक प्रयोग नगर्ने कसम खाउँ
हामी सबैले वातावरण सफा बनाउँ ।

उत्पादन कम्पनिले विकल्प खोजौं
वार्ता र सहमतीमा बाटो अर्को रोजौं
देश र जनताको लागि सहयोग गरौं
प्लाष्टिक मुक्त देश नेपाल घोषणा गरौं ।